
हङकङ। हङकङमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा निरन्तर क्रियाशील ‘हङकङ साहित्यिक साझा श्रृङ्खला’को १५७औं संस्करण एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
एकीकृत नेपाली समाज (हिन्स) को सभाहलमा आयोजित उक्त कार्यक्रम संयोजक जुनु रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका सहसंयोजक रोशन यक्सोले सञ्चालन गरेको उक्त साहित्यिक श्रृङ्खलामा हङकङमा सक्रिय स्रष्टाहरू दाजु गुरुङ, जानु काम्बाङ लिम्बू, रमण गुरुङ, पूर्णिमाजी शाह, अरुणा शर्मा, बालिका बान्तवा र बज्रकुमार राईले आफ्ना साहित्यिक रचनाहरू वाचन गरेका थिए।
कार्यक्रमकै क्रममा नेपालका युवा साहित्यकार नवीन अभिलासीद्वारा लिखित कथा संग्रह ‘दहाड’ को विमोचन गरिएको थियो।
विगत १३ वर्षदेखि हरेक महिनाको अन्तिम आइतबार नियमित रूपमा सञ्चालन हुँदै आएको यो श्रृङ्खला प्रवासमा नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा विकासमा निरन्तर सक्रिय रहँदै आएको छ।


