November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

२०८२ फाल्गुन १४

काठमाडौं । जेनजी जनआन्दोलनका प्रतिनिधिहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

जेनजी आन्दोलनका प्रतिनिधिहरुको तर्फबाट विभिन्न चार संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रतिवेदन फागुन २२ गतेभित्र सार्वजनिक नगरे पुन: सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ भन्दा एक दिन पनि म्याद नथपी सार्वजनिक गरी कार्यान्वयन गर्न तथा न्याय सुनिश्चित गर्न हामी जेनजी आन्दोलनका प्रतिनिधिहरु गम्भीर ध्यानाकर्षण गराउँछौं ।’

Advertisement

२०८२ साल भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलन हिंसात्मक बन्दा ७६ जनाको ज्यान गएको थियो । सो घटनापछि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएको थियो । सो सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

पटक पटक म्याद थपिँदै गएको तर प्रतिवेदन सार्वजनिक नभएको अवस्थाप्रति जेनजी आन्दोलनका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा उनीहरुले आज फागुन १४ गते प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण गराउन लागेको जेनजी फ्रन्टको नामबाट सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।