काठमाडौं । नुवाकोटबाट काठमाडौं आउदै गरेको सुमो बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरीका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौं आउदै गरेको बा प्र०३–००१ज ७७७ नम्बरको सुमो दुर्घटना हुँदा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन् ।
उनीहरूको टाउको, छातीमा चोट लागेकाले उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर घाइते भएका इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला र टेकबहादुर विष्टको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ ।
शिवपुरी–५ स्थित कुखुरेको ओरालोमा ब्रेक फेल भएका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
गाडीका चालक दुप्चेश्वर गाउँपालिका–४ का आइत लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।