धरान। ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन-३’ का उत्कृष्ट १० कविहरुको निमित्त एक दिने कार्यशाला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ ले सञ्चालन गरिरहेको स्कुलमा कविता कार्यक्रमबाट छ्नोट भएका उत्कृष्ट -१० बाल कविहरुका निमित्त कविता कार्यशाला आयोजना गरिएको हो ।


गत शनिबार सम्पन्न कार्यशालामा सहभागीहरुलाई सहजकर्ताद्वय नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य रामप्रसाद खरेल र कवि तथा समालोचक डा.अस्मिता विष्टले सहजीकरण गरेका थिए ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर -५ का वडाअध्यक्ष रोहित काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुले अमाहा सिमसारको प्राकृतिक सौन्दर्यमा रमाउँदै कविता लेखन अभ्यास गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्राध्यापक एवम समालोचक रमेश काफ्लेले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा चेतना अभिवृद्धिका साथै सिर्जनशीलता बढ्ने बताए ।


यस्तै, प्रमुख अतिथि काफ्लेले बराहक्षेत्रको चिनारीमा स्लुलमा कविता कार्यक्रमले पनि उल्लेख्य योगदान दिएको बताए । ‘स्वर्णिम साहित्य समाजले आयोजना गरेका कार्यक्रमहरु आफैमा विशिष्ठता बोकेको हुन्छ। त्यसमा पनि स्कुलमा कविता जस्ता लोकप्रिय कार्यक्रमले त बालप्रतिभाहरु मात्र नभई कवि लेखकहरु समेत ध्यानाकर्षण भइरहेको छ । यो हामी बराहक्षेत्र नगरपालिका बासीको निम्ति खुसीको कुरा हो’, उनले भने ।
सहभागी बाल प्रतिभाहरुले आफूले अभ्यास गरेका कविताहरू समेत प्रस्तुत गरेका थिए ।
समाजकी सचिव सबिता फागोले सहजीकरण गरेको कार्यक्रममा समाजकी सह-सचिव शारदा निरौला सारुले स्वागत मन्तव्य राखेकी थिइन् ।
कवि प्रकाश दिप्साली राईले कार्यक्रममाथि प्रकाश पारेका थिए भने कार्यक्रमका सभाध्यक्ष स्वर्णिम साहित्य समाजका अध्यक्ष शरण लिम्बुले गरेका थिए ।