धरान । स्वर्णिम साहित्य समाज बराहक्षेत्र –३, सुनसरीले सञ्चालन गरिरहेको ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन–३’को फाइनल चैत्र २८ गते हुने भएको छ । आज स्वर्णिम साहित्य समाजको अफिसियल फेसबुक पेजमार्फत प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
समाजले उत्कृष्ट १० बाल कविहरुको निम्ति अन्तिम तयारी स्वरुप गर्नु पर्ने सम्पुर्ण कामहरू सकिएको पनि जानकारी गराएको छ ।
अध्यक्ष शरण कुमार लिम्बु र सचिव सविता फागोद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त फाइनल कार्यक्रम बराहक्षेत्र–५ को वडा कार्यशालामा आयोजना गरिने र कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रख्यात साहित्यकार तथा मदन पुरस्कार विजेता डा. नवराज लम्साल रहने समेत समाजले जनाएको छ ।
गत माघ १० गतेबाट सुरु भएको उक्त कार्यक्रमको अडिसन चरण गत फागुन २ गते सम्पन्न भएको थियो । अडिसनहरुबाट उत्कृष्ट –१० कविहरू छनोट भएका छन् । छनौट कविहरुमध्येबाट स्कुलमा कविताका नयाँ विजेता पाउनेछ ।
स्कुलमा कविताका विजेताले नगद रु.१० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र, एकझोला किताब प्राप्त गर्ने छ भने द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ५ हजार, ३ हजार र २ हजार र समान रुपमा मेडल प्रमाणपत्र र एकझोला किताब प्राप्त गर्नेछन् ।
अन्य सहभागीहरुले प्रमाणपत्र, मेडल र एकझोला किताब प्राप्त गर्नेछन् ।

