वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–११ का महिलाहरूलाई स्वावलम्बी बन्न बाख्राको बीउ पाठापाठी वितरण गरिएको छ । स्थानीय कागतीभन्याङ स्वावलम्बी महिला बाख्रापालन समूहका सदस्यहरूलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।
महिला सदस्यहरूलाई बीउ पाठी वितरण गर्नु हुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरूलाई उत्पादनमा जोड्ने अभियानमा पालिका लागि परेको जानकारी दिइन् । १४ वटै वडाका कृषकले उत्पादन गरेका बस्तुलाई सहज रुपमा बजार सम्म पुर्याउने पालिकाको योजना रहेको उपप्रमुखको भनाइ थियो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
बाख्राको नस्ल सुधार गरि आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उनको भनाइ छ ।
कार्यक्रम अन्तरगत कागतीभन्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका २१ जना सदस्यहरूलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । उनीहरूलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने योजना रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
वालिङ नगरपालिकाको वडा नं.१ देखि १४ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।