काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूले गलत कदम उठाए जनताले ३६ दिन पनि नकुर्ने बताएका छन् ।
बुधबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा जारी नवसांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताहरू अब्बल चेतनामा आएका बताएका हुन् ।
सभापति लामिछानेले भने, ‘शक्ति प्राप्त गरेपछि आँखामा जुन पट्टी आउँछ, त्यो खोल्नसक्न पर्छ नत्र पूराना दललाई ३४/३५/३६ वर्ष कुरे। तपाई हामीलाई ३६ महिना ३६ दिन पनि कुर्नेवाला छैन। यो कुरा निर्धक्क हुनुहोला। किनकि जनता अब्बल चेतनामा आएको छ ।’
उनले आफूहरूलाई अघिल्लो चुनावमा जनताले नमात्तिउन् भनेर २१ सिट मात्रै दिएको बताए ।
‘अघिल्लो चुनावमा हामीलाई २०/२१ सिट होइन दुई तिहाइ दिन सक्थे । तर अघिल्लो चुनावमा जनताले यी नयाँहरूलाई एक पटक हेरौं । ताकि नमात्तिउन् भन्ने गरी मात्रै सिट दिऊ र पूरानालाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमिट्यान्न नपारौं भनेर नागरिकहरूले विवेकपूर्ण ढंगले मतदान गरे। तर नागरिकको विवेकलाई दुई तिहाइ पाएको सरकारले चुनौति दियो,’ उनले भने ।