काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको हो ।
पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका छन् ।
सभापति रवि लामिछानेले बोलाएको उक्त बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुनुका साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने छ । त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा पनि सचिवालयले निर्णय लिनेछ । रास्वपाले यसपटक नयाँ प्रयोग गर्दै ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई पनि बैठकको मुख्य एजेन्डा बनाएको छ ।
यसका साथै विविधअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेवीका विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ ।