November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

ओपीडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ओपीडी सेवा नखुम्च्याउन सरकारलाई आग्रह गरेका छन् । केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले ओपीडी सेवा प्रभावित हुँदा सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको र बिरामीलाई आर्थिक बोझ थपिदिएको बताए ।

सामाजिक संजालमा लेख्दै उनले विगतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आफू रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनले स्मरण गराए ।

Advertisement

सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपीडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र सेवाको समय बढाउने जस्ता सुधारका कामहरू सुरुवात गरेको उनले बताए ।

स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेको पनि उनले स्मरण गरे ।

अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको उनले बताए ।

सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने उनले बताए ।

हिजोका दिनमा सुरु भएका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन उनले सरकारसँग अनुरोध गरेका छन् ।