काठमाडौं । सरकारले विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।
समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको लिंकमार्फत् आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
उपकुलपति छनोटसम्बन्धी कार्यविधिसमेत मन्त्रालयको वेबसाइटमा राखिएको बताइएको छ ।
सरकाले अध्यादेशमार्फत् यसअघिका सरकारले नियुक्त गरेका करिब १५ सयको नियुक्ति खारेज गरिदिएपछि सबै विश्वविद्यालयहरुमा उपकुलपति लगायतका पदाधिकारी खाली रहेका छन्।