काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार बाहिरिएपछि पार्टीले स्पष्टीकरण सोध्न लागेको हो ।
मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीलाई स्पष्टीकरण सेध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाही गर्नेसम्मको तयारी भएको रास्वपा स्रोतले जनाएको छ ।
गर्भवती अवस्थामा रहेकी २६ वर्षीया रिता अजुकोले आफूसँग खाने पैसासमेत नभएको गुनासो पोखेकी छन् । आफू गर्भवती भएको जानकारी पाएपछि कार्की सम्पर्कविहिन बनेको उनको भनाइ छ । ठमेल बस्दै आएकी अजुको र कार्की लिभिङ्ग रिलेसनशीपमा थिए । उनका अनुसार आफ्नो चाहना नहुँदानहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका हुन् । गर्भवती भएको थाहा पाएपछि अजुकोले गर्भपतन गर्ने बताएकी थिइन् । तर,कार्कीले त्यसो गर्न दिएनन् ।