November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक

कञ्चनपुर: जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि कार्यक्रम आजदेखि सञ्चालनमा ल्याइएको हो ।

“माघ १६ देखि २१ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेका छौँ”, कार्यालयका प्रमुख उदयराज जोशीले भन्नुभयो, “कार्यक्रमअनुसार माघ १५ गते नगरपालिका वा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशनको कार्य भइसकेको छ ।”

उहाँका अनुसार कार्यक्रम झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा यही माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्धारित मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको उहाँले बताउनुभयो ।

Advertisement