काठमाडौं । शिक्षक सेवा आयोगले पुरानै व्यवस्था अनुसार लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ । सरकारले बजेट भाषण मार्फत जुनसुकै विषय पढेका विद्यार्थीले शिक्षण अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) दिन पाउने भन्ने उल्लेख गरे पनि आयोगले पुरानै व्यवस्था अनुसार आवेदन आह्वान गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सरकारले ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरेको थियो । तर, निम्न माध्यमिक तहका लागि आयोगले गरेको लाइसेन्स आवेदन आह्वान विगतझै मापदण्ड भएकाले मात्र आवेदन दिन सकिनेछ ।
यसका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा (कम्तीमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको व्यक्तिले आवेदन दिन सकिने आयोगले जनाएको छ ।
त्यस्तै, तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भएका व्यक्तिहरूले समेत दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
बजेट वक्तव्यमा व्यवस्था भएअनुसारका लागि शिक्षक सेवा आयोग नियमावली संशोधन हुनुपर्ने आयोगले जनाएको छ । संशोधन नगरी नयाँ व्यवस्था अनुसार गर्न नसकिने आयोगको भनाई छ ।
आयोगको सूचना अधिकारी सुदर्शन मरहठ्ठाले कानूनी व्यवस्था नै नभएकाले अहिले कार्यान्वयन गर्न नसकिएको बताएका छन् ।