August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प छैन: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताएकी छिन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंले आयोजना ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उनले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिएकी हुन् ।

मन्त्री शर्माले सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरिन् । उनले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको बताइन् ।

Advertisement

सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धिहुँदै गएको दृष्टान्त दिँदै उनले भनिन्, “डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छ ।”

मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताउदै मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्रयाउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिइन्।

निजी क्षेत्र पनि उत्साहित भएर अघि आउनुपर्ने बताउदै उनले भनिन्, “सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छ ।”