काठमाडौं–उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या आरोप लागेका ६ जना मध्ये २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। दुई जना धरौटीमा रिहा भएका छन् भने २ जनालाई अदालत पेश गर्न बाँकी नै छ।
बास्तोलाको हत्या आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका–६ प्रगतिटोलका सुदीप परियार र राजेश रणपहेली, झापाको गौरादह नगरपालिका–९ का दीपेश पौडेल र प्रवीणकाे शव भेटिएको घरका घरधनी उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी, मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका रिकेश सिवा भन्ने मेहरमान दर्जी र होटल सञ्चालक उर्लाबारी नगरपालिका–९ का कुमार राईलाई विभिन्न मितिमा पक्राउ गरेको थियो।
सुरुमा मेहरमान दर्जी र कुमार राईलाई प्रहरीले पक्राउ गरेको थियो। दर्जीलाई पुर्पक्षका लागि कारागार चलाउने आदेश अदालतले दिएको थियो भने राई ३ लाख धरौटीमा रिहा भएका थिए। त्यसपछि घरधनी रमेश गिरी पक्राउ परेका थिए। उनी १ लाख धरौटीमा रिहा भएका थिए।
शुक्रबार बुटवलबाट पक्राउ परेका रणपहेलीलाई आइतबार सरकारी वकिलमार्फत अदालत पेश गरिने मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए।