November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पूर्वगृहमन्त्री ‘बादल’का भाइ नरेश रिहा

काठमाडौं– पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापा रिहा भएका छन्। सोमबार थापाले डेढ वर्षको सजाय काटेर रिहा भएका हुन्। डिल्लीबजार कारागारमा रहेका थापाको कैद सजाय पूरा भएपछि सोमबार रिहा गरिएको डिल्लीबजारका जेलर वसन्त पुरीले जानकारी दिए। 

उच्च अदालत पाटनले थापालाई आपराधिक लाभका कसूरमा २०७६ माघ २७ मा १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। उच्चले तोकेको कैद सजाय पुरा गरि उनी सोमबार रिहा भएका हुन्। थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोले आपराधिक लाभको कसूरमा पक्राउ गरेको थियो। अदालतले थुनामा राख्न आदेश दिएसँगै उनी २०७६ फागुन १९ देखि डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए।

व्यापारीलाई धम्क्याएर रकम असुलीमा सक्रिय समूहमा संलग्न देखिएका उनलाई प्रारम्भमा काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर, उच्च अदालत पाटनले सोही मुद्दामा सुनुवाइ गर्दै जिल्लाको आदेश उल्टाएर धरौटी खारेज गरिदिएपछि नरेशले जेल बस्नु पर्ने भएको थियो।

Advertisement

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज १३ गते गोली हानी हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका समीरमान बस्नेत अहिले केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन्। उनकै समूहसँग नरेशको संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। नरेशसँगै त्यसबेला ९ जना पक्राउ परेका थिए। 

जेलमै रहँदा समेत बस्नेतको आपराधिक काम रोकिएन। बस्नेतले जेलबाटै धम्क्याएर व्यवसायीबाट रकम असुल्ने योजना बनाए। उनकै समूहका सदस्य काठमाडौं स्युचाटारका पवन खड्का र इचंगुनारायणका सुरेन नगरकोटीमार्फत् व्यवसायीलाई धम्क्याएर रकम असुल्ने योजना बनाएका थिए। धम्क्याउँदै रकम माग गरेको भन्दै व्यवसायी जयराम लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरी दिए।

प्रहरीले पवन र सुरेनलाई पक्राउ गरेपछि दुवैसँग गृहमन्त्रीका भाइ नरेशको पटकपटक कुराकानी भएको देखिएको र ‘मिलेर काम गर्नुपर्छ’ भन्ने सन्देश समेत आदानप्रदान भएको पाइएपछि सीआईबीले नरेशलाई सुरुमा २०७६ भदौमा पक्राउ गरेको थियो।

त्यसबेला नरेशलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने बाँकी ८ जनालाई पुर्पक्षमा पठाएको थियो। जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थिए। पछि उच्चले जिल्लाको आदेश उल्टाउँदै नरेशलाई डेढ वर्षको कैद सजाय सुनाएको थियो।