सुनसरी – आफ्नी अनुयायीमाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ। सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका उनीमाथि एकजना अनुयायी महिलाले बलात्कार आरोप लगाएपछि पक्राउ परेका थिए।
जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो। बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गिरीका वकिलहरुको एकतर्फी बहस सुनेपछि न्यायाधीश कोइरालाले सफाइ दिएका हुन्। आजको बसहमा सरकारी वकिलहरु अदालतमा उपस्थित भएनन्।
जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले अभियोग दाबी नपुगेको ठहरसहित सफाइ दिइएको जानकारी दिएका छन्। यस मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दर्ता गराएको थियो। सरकारी वकिलको निवेदन नै दर्ता नगरी अदालतले गिरीलाई सफाइ दिने निर्णय लिएको हो।
जिल्ला सरकारी वकिलले सर्वोच्चमा बहसको क्रममा मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको जनाउँदै जिल्लामा आइनसकेकाले सोमबारको पेशी सार्न आग्रहसहित निवेदन दिएको थियो।
गिरीविरुद्धको बलात्कार मुद्दा अहिले सर्वोच्च अदालतमा पनि छ। सर्वोच्चले गत साता गिरीलाई थुनामै राखेर पुर्पपक्ष गर्न आदेश दिएको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा पनि सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गरेको थियो। तर उनलाई उच्च अदालत मोरङले थुनामा पठाउने आदेश दिएको थियो।
सर्वोच्चबाट मिसिल फिर्ता भएर नआइसकेको अवस्थामा पेशी सार्न माग गर्दै निवेदन बुझाए पनि अदालतबाट गिरीलाई सफाइ दिने निर्णयको जानकारी आएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले बताएका छन्।
सोमबारको इजलासमा सरकारी वकिलले पत्र बुझाएका थिए। तर त्यो पत्र बुझ्न न्यायाधीशले अस्वीकार गरेको बताइएको छ। श्रेस्तेदारले पनि पत्र नबुझेपछि सरकारी वकिल बहसमा नगएको निरौलाले बताएका छन्।
सरकारी वकिलको कार्यालयमा सर्वोच्च हुँदै महान्यायाधीवक्ताको कार्यालयबाट मिसिल आएपछि बहस गर्न समय माग गरिएको उनले बताए। तर अदालतले त्यसमा सुनुवाइ नगरी एकतर्फी बहसको भरमा फैसला दिएको हो। गिरीको मुद्दामा यसअघि बहस गरेका सरकारी वकिलको सरुवा भएको थियो। त्यहीकारण बहस गर्न मिसिल चाहिने तर्क सरकारी वकिलको कार्यालयले गरेको थियो।