November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

शिक्षक हत्या प्रकरणः हत्या भएको ठाउँमा प्रहरीको ‘सर्च अपरेशन’

मोरङ  – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घाँटी रेटेर एकजना प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरिएको क्षेत्रमा प्रहरीले ‘सर्च अपरेशन’ चलाइरहेको छ। 

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङसहित छिमेकी जिल्लाका समेत प्रहरी उतारेर सर्च अपरेशन चलाइएको हो। मिक्लाजुङ गाउँ इलाम, पाँचथर र धनकुटाको सीमाक्षेत्रमा अवस्थित विकट पहाडी क्षेत्र हो। 

त्यस क्षेत्रमा यसअघि पनि विप्लवका कार्यकर्ताले आफ्नो सक्रियता देखाएका थिए। त्यहीँबाट दुई कार्यकर्ता पक्राउ गराउन प्रअ श्रेष्ठले नै सुराकी गराएको आरोप विप्लव समूहले लगाउँदै आएको छ।

Advertisement

सुराकीको आरोपमा मंगलबार हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खेको जंगलमा भेटिएको थियो।

उनको शवलाई घटनास्थलबाट उठाएर पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। मिक्लजुङको रमितेखोलास्थित बर्खे गाउँस्थित घरबाटै विप्लवका कार्यकर्ताको अपहरणमा परेका उनको घाँटी रेटेर हत्या भएको थियो।

घरबाट एक किलोमिटरको दूरीस्थित जंगलमा दुवै हात पछाडि बाँधेपछि घाँटी रेटेर उनको हत्या भएको थियो। शव पोष्टमार्टमका लागि बिपी प्रतिष्ठान धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन्।