November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

ज्यान मुद्दाका फरार प्रतिवादी गोबिन्द मगर १७ वर्षपछि साउदीबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–६ ठेगाना भएका ४० वर्षीय गोबिन्द मगर रहेका छन् ।

कर्तब्य ज्यान मुद्दामा फरार मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो ।

अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।

Advertisement

मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनी उपर रेड नोटिस जारी गरिएको थियो ।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।