मोरङ । आगो ताप्ने क्रममा विवाद हुँदा एक युवाको कान काटिदिएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा भएको विवादमा झगडा हुँदा दुई युवाले एक ट्रक चालकको कान काटिदिएका हुन् ।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ का ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कान काटिदिने दुई युवक फरार छन् ।
प्रदेश १–००१ख ८१८९ नम्बरको ट्रक मुखियाले विराट चोकस्थित एक होटेलमा राति खाना खाएर सडकमा बालिएको आगो ताप्न गएका थिए ।
पहिलेदेखि नै आगो तापिरहेका स्थानीय युवाहरुसँग विवाद भएको प्रहरीले जनाएको छ । विवाद क्रममा कान काटेर फरार भएका व्यक्तिको खोजी गरिरहेको प्रहरीले बताए ।