मोरङ । सुन्दरहरैंचा नगरपालिका ४ बलियामा अपहरण शैलीमा होटल लगेर सामूहिक बलात्कार गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा ४ घर भई बेलबारीमा बस्दै आएका २७ वर्षीय मनोज श्रेष्ठ रहेका छने । उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
६ जना छोराछोरीकी ३० वर्षीया आमालाई बलात्कार गरेको आरोपमा यसअघि मनोजका दाइ तथा बलात्कार भएको श्रेष्ठ होटल एन्ड फेमिली लज सञ्चालक ३६ वर्षीय अर्जुन भन्ने हिमबहादुर श्रेष्ठलाई यसअघि नै प्रहरीले पक्राउ गरेका थिए । सामूहिक बलात्कार घटनाका फरार आरोपित झापा घर भएका रामबहादुर नेपालीको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अर्जुन भन्ने हिमबहादुर श्रेष्ठ जिल्ला अदालत सुनसरीमा विचाराधीन मानव बेचबिखन मुद्दाको फरार अभियुक्त हुन् । जिल्ला प्रहरी सुनसरीलाई अर्जुनको विषयमा के, कुन मुद्दा कस्तो अवस्थामा रहेको बारे जानकारी माग गरेको र त्यो आएपछि मात्रै वास्तविकता भन्न सकिने प्रहरीले बताएका छन् ।
पीडित महिलाकी बहिनीले दिएको किटानी जोहेरीका आधारमा पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले बताए ।