विराटनगर । तीन जनाको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले मोरङमा सार्वजनिक गरेको छ ।
सिरहा नगरपालिका-२१ स्थायी घर भई काठमाडौँको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार यीमध्ये मण्डल मुख्य आरोपी र बाँकी दुई उनका सहयोगी हुन् ।
मण्डलले आफ्नै व्यापार साझेदारहरू राजेन्द्रकुमार श्रेष्ठ, शम्भुकुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा र लिम्बुको शव ललितपुरको ठेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा बरामद गरिएको थियो ।