काठमाडौं । काठमाडौंको हायात होटलको पार्किङबाट युरेनियम जस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली र भारतीयहरू रहेका छन् ।
उनिहरुलाई प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी स्रोतले बताएको छ ।
नेपाल प्रहरीको विशेष ब्युरो तथा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।
यसबारे प्रहरीले आधिकारिक रूपमा जानकारी दिएको छैन। ती व्यक्तिहरूलाई वृत्तको टोलीले मंगलबार काठमाडौं जिल्ला अदालत लगिने बताइएको छ ।
प्रहरी स्रोतका अनुसार अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बाँकी कुरा सार्वजनिक गरिने छ ।
बरामद भएको सो पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ ।