धरान । एक हप्ता अगाडि सुनसरीको धरान ४ स्थित जङ्गलमा भेटिएको शव झापाका दिपक सिग्देलको भएको खुलेको छ । सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो ।
प्रहरीका अनुसार उक्त शव दमक ५ का ४३ वर्षीय दिपक सिग्देलको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् । उनी भर्खरै वैदेशिक रोजगारीबाट आएका थिए ।
दिपक सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएका छैनन् ।
अहिले अनुसन्धानकै क्रममा रहेकाले थप विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानका आधारमा शंकास्पद उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको प्रहरीको भनाइ छ ।
गत बुधबार धरान भेडेटार सडकको जंगलमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो ।