काठमाडौं । श्रीमतीलाई आगो लगाएको आरोपमा काठमाडौंको कपनबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका– ७ घर भई बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीका श्रीमान ४२ वर्षीय प्रवीण चौधरी रहेका छन् ।
प्रहरीका अनुसार प्रवीण चौधरीले श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएका थिए । राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई आगो लगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महानगरीय प्रहरी पहरा गण सामाखुशीबाट मन्त्री निवास हरिहरभवनमा कार्यरत प्रहरी सहायक निरीक्षक संयोग राईले घटना थाहा पाएपछि महानगरीय प्रहरी प्रभाग कपनको टोलीले स्थानीयबासीको सहयोगमा ढोका फोडेर महिलाको उद्दार गरेको थियो ।
घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । शरीरको विभिन्न भाग जलेको उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीको भनाई छ ।