धरान । इटहरीमा भएको बम विस्फोट घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का २० वर्षीय रबिन थापा, ३२ वर्षीया लक्ष्मीदेवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ का २३ वर्षीय शेरजंग गुरुङ र झापा कनकाई गाउँपालिका-८ का ४३ वर्षीय खगेन्द्र खरेल रहेका छन्।
गत १४ गते इटहरी उपमहानगरपालिका-२ स्थित डेरा गरी बस्ने ३२ वर्षीया लक्ष्मी थापाको कोठामा सुतली बम विस्फोट हुँदा थापाका २० वर्षीय छोरा रबिन थापा र शेरजंग गुरुङ घाइते भएका थिए। बम विस्फोटपछि घाइते अवस्थामै उनीहरू फरार भएका थिए। बिहीबार प्रहरीले सुरूमा लक्ष्मीलाई पक्राउ गरेको थियो। त्यसपछि २० वर्षीय रबिन थापालाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि खरेल झापा काँकडभिट्टाबाट बिहीबार नै पक्राउ परेका थिए। यस्तै, गुरुङलाई प्रहरीले काँकडभिट्टाबाट शुक्रबार पक्राउ गरेको थियो।
उक्त घटनामा अनुसन्धान गर्दै जाँदा उक्त सुतली बम हिमाल सुरक्षा परिषदका अध्यक्ष खरेलको नेतृत्वमा थापाको कोठामा ल्याएको बुझिएको प्रहरीले जनाएको छ। अन्त कतै विस्फोट गर्ने योजना बनाउँदा कोठमै बम विस्फोट हुन पुगेको प्रहको भनाइ छ ।
हिमाल सुरक्षा परिषद हिन्दु राष्ट्रको माग राख्दै आन्दोलन गरिरहेको संगठन हो। खरेल त्यो परिषदका अध्यक्ष रहेको बुझिएको छ। उनको नेतृत्वमा गत माघ ९ गते विर्तामोडस्थित बस स्ट्याण्ड, १३ गते दमकस्थित शिवान चर्चमा शंकास्पद वस्तु राखिएको थियो।
पक्राउ परेकालाई हिरासतमा राखेर विस्फोटक पदार्थको कसुर गरेको मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।