काठमाडौं । प्रेमिका खोसेको निहुँमा खुकुरी प्रहार गरेर भागेका युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै खुकुरी प्रहार गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७८ चैत १० मा खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भएका २५ वर्षीय सुरज खड्का घाइते भएका थिए । उनलाई खुकुरी प्रहार गर्ने मुख्य योजनाकार दोलखाको बैत्यश्वर घर भएका ३० वर्षीय विकास तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपी तामाङ जेठ १८ मा बौद्धबाट पक्राउ परेका हुन् ।
सो घटनामा संलग्न ५ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको अनुसन्धानबाट प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्रहार भएको खुलेको प्रहरीले जनाएको छ ।
शंखमुलस्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा.९३ प २२९ नम्बरको मोटरसाइकल, दुईओटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए । खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको थियो । खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी अझै फरार छन् ।
आरोपीहरू विरुद्ध प्रहरी वृत्त बानेश्वरले ज्यान मार्ने उद्योग विरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।