काठमाडौं । कञ्चनपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशी रहेका छन् ।
प्रहरीका युवतीमाथि असार २३ गते राति सामुहिक बलात्कार भएको हो । उनीमाथि बलात्कार भएको सूचना बिहीबार प्रहरीकहाँ पुगेको थियो । शुक्रबार जाहेरी परेपछि प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बलात्कार आरोप लागेका सुशील बिष्ट र युवतीको प्रेम सम्बन्ध रहेको बुझिएको छ । सुशीलले भागेर विहे गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएका थिए । राति उनीहरूलाई सँगै देखेर पिछा गरेका अरू तीन जनाले युवतीमाथि बलात्कार गरेको जोहरीमा उल्लेख छ ।
आरोपितहरूलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।