November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रेमिका बनेर १ वर्षीय बालिका अपहरण गर्न लगाउने र गर्ने दुवै पक्राउ

विराटनगर । प्रेमिका बनेर बालिका अपहरण गर्ने पक्राउ गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ५ की अनु साह रहेकी छन् । उनीसँगै रामपुरका रवीन्द्र साह पनी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरुले अपहरण गरेको बालिकाको करिब २ महिना पछि उद्धार गरिएको हो । करिब २ महिना अगाडि बुढीगंगा गाउँपालिका १ का दीपेन यादवको मोबाइलमा एक अपरिचित नम्बरबाट फोन गएको थियो । फोन गर्ने व्यक्ति अनु साह रहेकी थिइन् । अनुलाई फोन गर्न लगाउने व्यक्ति थिए भने विराटनगर महानगरपालिका वडा नम्बर ५ रामपुरका रवीन्द्र साह थिए । साहले अनुलाई पटकपटक फोन गर्न लगाई यादवसँग नजिक हुन र सम्बन्ध बढाउन लगाएका थिए । रवीन्द्र र अनुको चिनजान विगत २–३ वर्ष पहिलादेखि रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अनु र दीपेन यादवबिच कुराकानी तथा भेटघाट हुने क्रम बढ्दै गयो । सोही क्रममा दीपेनले आफ्नो श्रीमती काठमाडौँ बस्ने गरेको र आफ्नो एउटा बच्चा समेत रहेको अनुलाई सुनाएका थिए ।

घटना घटेको दिन अनुले विगत केही दिनदेखि छोरी हेर्ने कर गरेका कारणले दीपेन यादव आफ्नी १ वर्षीय छोरी निशिकालाई कारमा लिएर महेन्द्र मोरङ कलेज मोडमा पुगे । रोडशेषमा रहेको स्वागतम होटेल अगाडि अनु साहलाई कारमा चढाएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले बताए । कारमा बस्दा अनुले आफूसँग ल्याएको बच्चाको कपडा फेरेकी र पुरानो कपडा उनैले साथमा लगेको पनि प्रहरीले जनाएको छ । उनीहरू दुवै जना महेन्द्र मोरङ क्याम्पस जाने रोडको चिया पसलमा गएर दुई कप चिया अर्डर गरे पनि अनुले चिया खान नमानेको र मास्क लगाई बसेको प्रहरीको दाबी छ । केही समयपछि अनु साहले दीपेनसँग मोबाइल मागी फोन गर्नु छ भनेर बाहिर निस्केर हिँडिन् ।

Advertisement

उनी बाहिर निस्किएको समयमा रवीन्द्र कुमार साह पहिले देखिनै सोही स्थानमा मोटरसाइकल लिएर अनु र बच्चालाई कुरेर बसेका थिए । बच्चालाई लिएर निस्किएकी अनु रवीन्द्रको प्र ०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकल चढी दुहबीको बाटो इनरुवा हुँदै सप्तरीको राजविराज हुँदै कुनौली पुगेको प्रहरीको भनाई छ । कुनौलीबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रवीन्द्र कुमार साह सोही दिन फर्केर विराटनगर आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

रवीन्द्रले अनुको मोबाइलमार्फत् पीडित परिवारलाई फेसबुक लगायत सामाजिक सञ्जालमा बालिका हराएको कुरा पोस्ट गरेको हटाउन तथा अन्य विषयमा समेत धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका लिएर फरार रहेकी अनु साह बच्चालाई लिएर दुई दिनदेखि दरभंगामा बस्दै आएकी थिइन् । अनुसन्धानको क्रममा आज बिहान ८ बजे नेपाल भारतको बोर्डर क्षेत्रबाट अपहरित बालिकाको सकुशल उद्धार गरी बालिका अपहरण गर्ने अनुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

त्यस्तै, रवीन्द्र साहलाई बुढीगंगा १ मा रहेको श्रीराम ट्रेडर्सबाट पक्राउ गरिएको र पक्राउ परेका दुबै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरू विरुद्ध फौजदारी संहिता २०७४ अनुसार ७ देखि १० वर्ष सम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ ।