काठमाडौं । श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको छ । घरायसी विवादमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घरबाट भाग्ने क्रममा श्रीमानको पनि मृत्युभ भएको हो ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० रमाइलोचोकस्थित आफ्नै घरमा ३५ वर्षीया श्रीमती रुस्मा आचार्यलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर तीन तलामाथिबाट श्रीमान् ४३ वर्षीय कृष्णप्रसाद आचार्य हामफालेका थिए ।
शनिबार राति करिब १०ः२५ बजेतिर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर लगिएको थियो । उनलाई अस्पतालले राति १०ः४० बजेतिर मृत घोषणा गरेको थियो ।
खुकुरी प्रहार लगत्तै तेस्रो तलाबाट हाम फालेका कृष्णलाई भने चितवन मेडिकल कलेज लगिएको थियो । बरण्डाबाट सडकतिर हाम फालेका उनको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको थियो ।
गम्भीर घाइते कृष्णलाई पनि अस्पतालले राति करिब ११ बजेतिर मृत घोषणा गरेको थियो ।
प्रहरीका अनुसार कुष्ण लामो समय विदेश बसेर हालै फर्किएका थिए भने रुष्मा राष्ट्रिय मावि तोरीखेतमा पढाउँथिन् । कतारबाट करिब १ महिनाअघि मात्रै घर आएका कृष्णको श्रीमतीसँग विवाद परेको थियो । विवाद चर्किंदै जाँदा उनीहरू सम्बन्ध विच्छेदको प्रक्रियामा समेत रहेको आफन्त बताउँछन् ।
उनीहरूका १२ वर्षीया छोरी छन् । शनिबार घटना हुँदा घरमा छोरी मात्रै थिइन् । प्रहरीले श्रीमतीको हत्यापछि भाग्ने क्रममा खसेको हो कि आत्महत्याका लागि हामफालेको भन्ने खुल्न नसकेको बताएको छ । दुबैको शव भरतपुर अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।