November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बुटवलमा गर्मी बढेसँगै बढ्न थाले चोरीका घटनाहरू

बुटवल । बुटवलमा गर्मी बढेसँगै चोरीका घटनाहरू बढ्न थालेका छन् । गर्मीका कारण राति झ्यालहरु खुल्ला राखेर सुत्ना मोबाईल, चार्जर तथा महँगा सामानहरू चोरी हुने गरेको पाईएको छ ।

एक स्थानीयका अनुसार चोरी गर्नेहरूमा कुलतमा फसेका किशोर तथा युवाहरू छन् । दुर्व्यसनीमा फसेका उनीहरुले राति घरको झ्यालबाट अंकुसे तथा चुम्बक प्रयोग गरेर मोबाईल तथा महँगा सामानहरू चोरी गर्ने गरेका पाइएको छ ।

केही दिन अघि बुटवलको बुद्दनगरस्थित एक मोबाईल बिक्री तथा मर्मत सेन्टरमा केहि युवाहरूले मोबाईलको लक खोल्न आउदा चोरीको मोबाईल भन्ने थाहा पाएपछि स्थानीयले कुटपिट गरि देविनगरस्थित प्रहरी चौकीमा बुझाएका थिए । ती किशोरहरका अनुसार चोरीमा संलग्न किशोरहरू धेरै संख्यामा छन् । उनीहरु १२ देखि २० बर्ष उमेरका छन् ।

Advertisement

सानै उमेरमा कुलतमा फसेका ती युवाहरू घरमा बाबुआमाबाट पैसा नपाएपछि चोर्न बाध्य भएको बताउछन् । देविनगर, बुद्दनगर, सृजनानगर, मजुवा र युद्दनगरका किशोर किशोरीहरू सानैदेखि लागू औषध पदार्थ सेवन गर्ने गरेको पाइएको छ । खुल्लमखुल्ला लागू औषध सेवन गर्दा पनि कसैले केही गर्न सकेका छैनन् । स्थानीयका केही बुद्धिजीवी तथा समाजसेवीहरूले यसविरुद्ध आवाज उठाएता पनि आफ्ना आमाबुबाले नै छोरा छोरीहरूको ढाकछोप गर्ने गरेको समावसेवीहरूको गुनासो रहेको छ ।

बुटवलबाट भारतीय नाका सोनौली ३१ किलोमिटरको दुरीमा पर्छ । त्यहीँबाट लागू औषधजन्य पदार्थहरू भित्रिने गरेको स्थानीयहरू बताउछन् । स्रोतका अनुसार सुरक्षाकर्मीसँगको मिलेमतोमा दिउसै नाकाबाट लागू पदार्थहरू भित्रिरहेको पाइएको छ ।

सानै उमेरमा दुर्व्यसनीमा फसेका ती युवाहरुले पढाइ समेत छोड्ने गरेको पाइएको छ । कतिपयको अभिवावक उनीहरुको भविष्यप्रति सचेत भएको देखिदैन । यसरी लागुऔषध दुर्व्यसन गरी बाक्लो रुपमा चोरी डकैति जस्ता आपराधिक क्रियाकलापमा संलग्न हुन थालेपछि बुटवल क्षेत्र असुरक्षित देखिन थालेको छ ।

लागु औषध दुव्र्यसनी र त्यसका कारण भएको बढ्दो आपराधिक क्रियाकलापप्रति लक्षित जनतचेतनामूलक कार्यक्रमहरु पनि नगरिएको जनगुनासो रहेको छ ।