November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिका फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र भवेश राजवंशी रहेका छन् ।

उनीहरुले विभिन्न व्यक्तिको फेसबुक एकाउन्ट ह्याक गरेर साथीहरुसँग समस्यामा परेको भन्दै ई–सेवामा रकम पठाउन लगाउने गरेको प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले इटहरीका डिल्लीबहादुर राउतको फेसबुक एकाउन्ट ह्याक गरेर १२ जेठमा साथीहरुलाई समस्यामा परेको भन्दै म्यासेज पठाएका थिए । राउतले आफ्नो आईडीमार्फत विभिन्न व्यक्तिलाई पैसा पठाउन लगाएको थाहा पाएपछि प्रहरी कहाँ उजुरी दिएका थिए । त्यस क्रममा अनुसन्धान थाल्दा आईडी ह्याक गरेर ठगीमा संलग्न गिरोह पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरुले एक सफ्टवेयर बनाएर फेसबुक आईडीमा विभिन्न व्यक्तिलाई ब्यूटी कन्टेस्टका लागि भोट दिनुस् भन्दै सन्देश पठाउने, र त्यहीबेला जाने लिंकमा क्लिक गर्ने वित्तिकै प्रयोगकर्तालाई आईडी, पासवर्ड पुनः हाल्न भनिन्थ्यो ।

प्रहरीका अनुसार त्यस पेज उनीहरुले झुक्याएर पासवर्ड चोर्नलाई बनाएका थिए । त्यहाँ लिंक हाल्नेवित्तिकै सबै विवरण उनीहरुसम्म पुग्थ्यो । यसरी आईडी हात पारेर म्यासेन्जरमार्फत साथीहरुलाई एकदमै समस्यामा परेको भन्दै पैसा पठाउन लगाउने गरेको खुलेको छ ।

हालसम्म उनीहरुले २५ भन्दा बढी फेसबुक एकाउन्ट ह्याक गरेर दुई लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको पाइएको छ । पक्राउ परेकाहरु कम्प्युटर साइन्स पढ्दै गरेका विद्यार्थी हुन् ।