November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मोरङमा पेस्तोल र रिभल्बरसहित दुई जना पक्राउ

विराटनगर । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित एक जना पक्राउ परेका छन् । उनीसँगै उक्त हतियार किन्न खोज्ने अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको छ ।

सोमबार साँझ ५ बजे बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो ।

Advertisement

उनलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याएर सोधपुछ गर्दा हतियार बेच्न नेपाल आएको खुलेको थियो । त्यसपछि ती हतियार किन्न खोजेका अर्का व्यक्ति नविन धिमाललाई राति ८ बजे मोरङको डाम्रभिटा भन्ने स्थानबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

धिमालले प्रयोग गरेको को २२प ६७०७ नम्बरको मोटरसाइकल, ४७ हजार ७७० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले जनाएको छ ।

यसै गरी सशस्त्र प्रहरी बल नेपाल बीओपी बनैनियाले आइतबार नै सप्तरी जिल्लाको राजगढ नगरपालिका–२ बनैनिया सीमा इलाकाबाट एउटा कटुवा पेस्तोल
तथा सोको एउटा गोली बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्ना साथ उनीहरूले बोकेको शंकास्पद बस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा पेस्तोल र गोली भएको पुष्टि भएको हो ।