झापा । अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित ‘एप्लिकेशन’द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक–८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दमक नगरपालिका–७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सन्चालक कमल गाउपालिका–२ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका सन्चालक दमक–८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् ।
गोप्य सूचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआइटी समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।
उक्त पक्राउ परेको समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङमार्फत नेपालमा प्रतिबन्धित एप्लिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने इ–सेवा खाता खोली लाखौंको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइइको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रयोगमा ल्याईएका एनसेलका सिमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवाइल, ल्यापटप ४ थान, प्रजापति साप्कोटा वडाध्यक्ष दमक–२ लेखिएको स्ट्याम्प १ थान , ‘हेड टिचर’ लेखिएको स्ट्याम्प १ थान, डिक बहादुर गुरुङ लेखिएको स्ट्याम्प १ थान, मादी नगरपालिका–३ नम्बर वडा कार्यालय संखुवासभा लेखिएको स्ट्याम्प १ थान, ‘गर्भमेन्ट अफ नेपाल मिनिष्ट्री अफ एजुकेशन’ लेखिएको स्ट्याम्प १ थान , नेपालको निशान छाप भएको स्ट्याम्प १ थान, नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान, ‘ग्लोबल एजुकेशनल एकेडेमी’ लेखिएको स्ट्याम्प १ थान र ‘नेप्लिज आर्मी रेकर्ड अफिस, २०४३ लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।
पक्राउ परेको यो समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।