November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सस्तोमा लाखौंको डलर साटिदिने भन्दै ५ रुपैयाँको थैलो थपाएर ठगी गर्ने दुई पक्राउ

काठमाडौं । अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै ठगी गर्ने समूहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थलाडाँडा घर भई बौद्ध आरूबारी बस्ने ३२ वर्षीय समिर भन्ने सञ्जय तामाङ र ललितपुरको धापाखेलहाइट बस्ने ३२ वर्षीय विष्णु तामाङ रहेका छन् ।

उनीहरुले लाखौं रकम लिएर ५, १०, २० रूपैयाँको बण्डल थमाएर श्रृंखलाबद्ध रूपमा ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारी शृंखलाबद्ध रूपमा ठगी गर्ने गरेको भन्ने सूचना प्रहरीले पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले बौद्ध, टोखा, साँखु, कपन लगायत उपत्यकाका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए ।

Advertisement

प्रहरीका अनुसार युनिक कोलोनीबाट नेपाली रूपैयाँ १५ लाख बराबरको अमेरिकी डलर साट्ने भनेर ठगी गर्न लागेपछि उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले उनीहरूबाट पाँच रूपैयाँको ३२५ थान, १० रुपैयाँको ९ थान, २० रुपैयाँको १०९ थान, एक अमेरिकी डलरको १८०० थान र ५० अमेरिकी डलरका ३७ थान बरामद गरेको छ ।

उनीहरूले कुनै पनि मानिसलाई सुरूमा चिनजान गरी पटकपटक फोन गर्ने गर्थे । त्यसपछि आफूसँग वैध अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै प्रलोभनमा पार्थे । साट्ने बेलामा भने उनीहरूले पीडितलाई उपत्यकाका साघुँरा गल्ली, पातलो मानववस्ती र जंगल आसपासको स्थानमा बोलाउँथे । त्यसरी बोलाएर उनीहरूले सुरूमा पीडित व्यक्तिले ल्याएका पैसा लिन्थे र आफूले रूमालमा पोको पारेको थैलो थमाउँथे । रूमाल थमाएर उनीहरू तत्काल निस्किने र पछि पोको खोलेर हेर्दा भित्र ५, १० र २० रुपैयाँ दरका नेपाली रुपैयाँ हुने गरेको खुलेको छ ।

प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिलाई ठगी गरेपछि त्यही मोबाइल फेरि प्रयोग गर्दैन थिए । पीडितसँग उनीहरूबारे कुनै पनि जानकारी नै हुँदैन थियो । पीडितले याद गरेका हुलियाकै आधारमा स्केच बनाएर प्रहरीले उनीहरू दुई जनालाई पक्राउ गरेको हो । यसमा संलग्न अरू पनि फरार छन् ।

उनीहरूको समूहले उपत्यका र उपत्यका बाहिर समेत गरी पाँच वटा यस्तै प्रकृतिले ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अनुसन्धान गर्न प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।