काठमाडौं । नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गिरोहका ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवान् बस्नेत, हरि वली, मनोज खत्री, विशाल वली र गोपी श्रेष्ठ रहेको छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रवार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्रान्डका नक्कली मदिरासहित सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार कोटेश्वरमा विभिन्न ब्रान्डका नक्कली मदिराको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता पाइएको र निजको डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगायतका मदिराहरू चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको छ ।
वलीसँग सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान तथा फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुल्ला आएको र उत्पादनकर्ता भगवान् बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त मदिराहरू रात्री क्लब, विभिन्न मदिराका डिलरहरू, दोहरी डान्स वार लगायतबाट माग भई उत्पादन गरी बिक्रीका लागि पठाइने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।