November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

हत्या गरेको आरोपमा नौ जना पक्राउ

इलाम । हत्या गरेको आरोपमा नौ जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङको हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई समेत ९ जनाल रहेका छन् ।

इलामको चुलाचुली गाउँपालिका–५ पकुवामा गुरुङको हत्या गरेका उनीहरुलाई विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार बुधबार बेलुका ५ बजे १०÷१२ जना अपरिचित व्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरीरको विभिन्न भागमा काटी गम्भीर घाईते बनाएका थिए । घटनापछि उनीहरु घटना स्थलबाट भागेर फरार भएका थिए । घाईते गुरुङको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले उनिहरुलाई घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्बरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अबस्थामा फेला परी बरामद गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्ना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको प्रहरीले जनाएो छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।