November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

हत्याको आरोपमा दुईजना अटो चालक पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका दुईजना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी–५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी–६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् ।

पक्राउ परेका मध्ये भुजेल र मृतक चौधरीको ज्वाई जेठानको नाता रहेको र हत्या हुनु एक दिन अगाडी घरायशी बिबाद भई टोलका स्थानीयहरु बसी छलफल समेत भएता पनी सोही रिसईसिबिका कारण असोज २२ गते भुजेलले आफ्नै अटोमा बोकेर ल्याएको धारिलो हतियारले ईटहरीको नेशनल गल्ली छेउमा चौधरीलाई प्रहार गर्दा चौधरीको बायाँ हात छिनेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागि धरान पठाएता पनि उपचारको क्रममा चौधरीको मृत्यु भएको थियो ।

Advertisement

घटना पश्चात तत्काल फरार रहेका भुजेललाई खोजतलासको लागि खटिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरको टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले भुजेललाई बिराटनगरको रानी एरियाबाट पक्राउ गरेको हो ।

भुजेललाई पक्राउ गरेसँगै भगाउन सहयोग गर्ने अर्का अटो चालक मण्डललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।