काठमाडौं । भारतीय युट्युबर जट्ट सिंहको गोडाको अपरेशन गरिएको छ । सिंहले चलाएको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धको मृत्यु भएसँगै प्रहरीको निगरानीमा राखेर काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उनको उपचार गराइरहेको छ ।
सिंहले कात्तिक ८ गते धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएका थिए । चितवनबाट काठमाडौंतर्फ आउँदै गर्दा युट्युबर सिंहले चलाएको भारतीय नम्बर प्लेटको एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकल धादिङको गजुरी बजारमा दुर्घटनामा परेको थियो । गजुरी बजारमा पैदल यात्रा गरिरहेका गजुरी नगरपालिका–१, नयाँबारीका ७९ वर्षीय सुर बहादुर धिताललाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । त्यसपछि अनियन्त्रित बनेको उनको मोटरसाइकल सडक किनाराको नालीमा पछारिएको थियो ।
प्रहरीका अनुसार सिंहको गोडामा गम्भीर समस्या देखिएको छ । पहिले उपचार गर्नु दायित्व भएको भन्दै उपचारपछि उनलाई नियन्त्रणमा लिई सवारी ज्यानको मुद्दा चलाउने तयारी भइरहेको धादिङ प्रहरीले जनाएको छ । नेपालको कानुनले तोकेको र मापदण्डभन्दा विपरीत अत्यधिक गतिमा मोटरसाइकल चलाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले लापरवाहीपूर्वक सवारीसाधन चलाएको कसुरमा उनीमाथि मुद्दा चलाउने तयारी गरेको छ ।
एक हजार सिसीको जट्ट सवार मोटरसाइकलको गति करिब ९० किलोमिटर प्रतिघण्टाको हाराहारीमा रहेको दावी गरिएको छ । उनले लापरवाहीपूर्वक सवारीसाधन चलाएर पैदलयात्रीको ज्यान लिएको कारण उनीमाथि लापरवाहीपूर्वक सवारी चलाएको कसुरमा मुद्दा चलाउने तयारी भएको छ ।