November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बिकिनी किलर’ चार्ल्स शोभराज जेलमुक्त

ठमाडौं । ‘बिकिनी किलर’ फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन् । सिरियल किलर शोभराज नेपालको जेलबाट १९ वर्ष दुई महिना बिताएर बिहि थुनामुक्त भएका हुन् ।

उमेर र स्वास्थ्य स्थितिको कारण देखाउँदै बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासल थुनामुक्त गर्न आदेश दिएको उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । शोभराजले भने केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् ।

कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । चार वर्षअघि नै शोभराज उमेरले ७४ वर्ष पुगिसकेकाले कारागार नियमावलीअनुसार आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक शोभराजले बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए । तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो । अदालतले १२ फागुन २०७५ मा मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले कैद सजाय मिनाहा किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको थियो ।

Advertisement

पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट पर्‍यो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए । त्यसको सुनुवाइका क्रममा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले सर्वोच्चको परामादेश कार्यान्वयनमा वेस्वाता गरेको नोट गर्‍यो । र, केन्द्रीय कारागारले ७ असार २०७९ मा उनीबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो ।