November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

धनकुटाबाट गाँजासहित ६ जना पक्राउ

विराटनगर । धनकुटा र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागुऔषध गाँजासहित ६ जना पक्राउ परेका छन् ।

शनिबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-१ उखुडाँडास्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरानतर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो ।

चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका-१ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो ।

Advertisement

लागुऔषध गाँजा बरामद भएसँगै उक्त बस र बसका चालक सुन्दरहरैचा-५ मोरङका ५१ बर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका-७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका-५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ परेका छन्।

पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

यसैगरी हिजो बेलुका पौने ७ बजे बिराटनगर महानगरपालिका-११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका-४ का ४४ बर्षीय यज्ञ प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीनवटा बोरामा गाँजा लुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषध गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।