November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

श्रीमानको हत्या आरोपमा पाँच वर्षपछि श्रीमती र छोरा पक्राउ

काठमाडौं । जाजरकोटमा श्रीमानको हत्या आरोपमा पाँच वर्षपछि श्रीमती र उनका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका–६ पुन्मोका आमा भद्रकला र छोरा तुल्सीराम रहेका छन् ।

उनीहरुलाई २०७४ पुस ३० मा ४७ वर्षीया काले कामीको घरायसी झगडापछि हत्या गरिएको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ ।

भद्रकलाले लट्ठीले हान्दा काले कामीको मृत्यु भएको र भद्रकला, उनका छोराहरू गोविन्द विक, तुल्सीरामले घर नजिकै शौचालयमा शव पुरिदिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार कंकाल शौचालयमा पुरिएको अवस्थामा मंगलबार प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा कामीको कंकाल भेटिएको प्रहरीले जनाएको छ ।

पुरै दाँतसहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कंकाल हड्डीहरू फेला परेको प्रहरीले जनाएको छ । कंकाल डिएनए परीक्षणका लागि कंकाल विधिविधान प्रयोगशालामा पठाइने प्रहरीले जनाएको छ ।