काठमाडौं । श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं. ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी रहेका छन् ।
उनलाई ४४ वर्षीया श्रीमती गोबिना बुढाथोकीको हत्या आरोपमा दाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को मलार खोलामा गोबिनाको शव सोमबार बिहान फेला परेको थियो ।
प्रहरीका अनुसार बिहान सात बजेतिर कीर्तिमान आफैं जिल्ला प्रहरी कार्यालय घोराही पुगेर प्रहरीसमक्ष श्रीमती गोबिना पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा खोलामा एकाएक ढलेर मृत्यु भएको बयान दिएका थिए । घटनास्थल पुगेपछि मृतकको टाउकोमा घाउखत देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशंका गर्दै अनुसन्धान अगाडि बढाएको र सोधपुछको क्रममा कीर्तिमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घोराही–१९ दुई खोली क्षेत्रमा रहेको एउटा खोली गोठमा बस्दै आएका बुढाथोकी दम्पत्ति श्रीमान मिस्त्रीको काम गर्थे भने श्रीमती लेबरको काम गर्थिन् ।
प्रहरीका अनुसार सडकमा काम गर्दै आएका उनीहरुबीच घटना घटेको दिन काम सकेर घर फर्कने क्रममा दुवैले मदिरा सेवन गरेका थिए । आइतबार बेलुका साढे ७ बजेतिर उनीहरू मलार खोला मात्र के आइपुगेका थिए उनीहरूबीचमा भनाभन भयो । उनीहरू हात हालाहालको अवस्थामा समेत पुगे । त्यही बीचमा श्रीमानले खोलाको ढुंगा टिपेर श्रीमतीको टाउकोमा प्रहार गरेपछि श्रीमती खोलामै लडेकी थिइन् ।
सँगै हिँडिरहँदा श्रीमतीले मनपरी गालीगलौज गर्दै कुटपिटमा उत्रिएको र सम्झाउँदा पनि नमानेपछि आवेगमा आएर आफूले ढुंगाले टाउकोमा प्रहार गरेको बयान कीर्तिमानले दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका कीर्तिमानविरूद्ध जिल्ला अदालतबाट सोमबार नै पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति पाएको छ ।