काठमाडौं । सुनको ब्रासलेट लिएर फरार भएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका १० सिर्थौली घर भई हाल काठमाडौं मुलपानी बस्दै आएका ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानसिंह घिसिङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले उपत्यकाको विभिन्न स्थानहरुमा बैदेशिक रोजगारीबाट फर्किएका मानिसहरुलाई ठगी गर्ने गर्थे । आफूसँग विदेशी मुद्रा रहेको तर पासपोर्ट नभएका कारण रकम साट्न नपाएकाले सस्तो दरमा विदेशी मुद्रा दिने प्रलोभनमा पारी उनीहरुले ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले पीडितलाई हामीसँग साउदी अरेबियन रियाल छ तर पासपोर्ट नभएका कारण साट्न मिलेको छैन, तपाईले लगेर साट्नु, मलाई तपाईले लगाएको सुनको ब्रासलेट दिनु भनि निजसँग भएको ५० ग्रामको सुनको ब्रासलेट लिई फरार भएको भन्ने निवेदन आएपछि दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सीसीटिभी.फुटेज, पिडितले दिएको हुलिया तथा अपराधिक कार्यविधि समेतको आधारमा उक्त उनीहरुको पहिचान खुलेको साथै घटनामा उनीहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको हुँदा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चाबाहिलबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत गौशाला पठाईएको छ ।