November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

तीनकुने हत्या प्रकरण: थप एकजना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुने स्तिथ दिव्य सःमिलमा भएको हत्या प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ । यस घटना एकजना व्यक्तिले मात्रै पनि गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण गरेको थियो । तर वरपरका सिसीटिभी फुटेज हेर्दा उनको क्रियाकलाप शंकास्पद देखिएपछि प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको जनाएको छ ।

शुक्रबार राति ११ः५५ सःमिलको टहराभित्र धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । दोलखा घर भई सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नवीन राईको शव भेटिएको थियो ।

Advertisement

मृतकहरको टाउको र शरीरका अन्य विभिन्न भागमा हतियारले प्रहार भएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए । राति केही समय घम्साघम्सी भएर हत्या भएको प्रारम्भिक रूपमा देखिएको प्रहरीको भनाइ छ ।

घटना घटिसकेपछि तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईले शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए । शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरेको थियो । त्यस्तै प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको छ ।