काठमाडौं । विहेत्तर सम्बन्धका कारण बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या भएको खुलेको छ । दिनदहाडै गोली हानी हत्या गरिएको विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषले हत्या गरेको खुलेको हो ।
सोमबार रुपेशलाई गोली हानी गरिएको हत्याको घटनामा संलग्न तीनजना पक्राउ परेका छन् । पक्राउ परेक दुई जना पुरूष र एक जना महिलाको परिचय भने खुलाइएको छैन । आज दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् । प्रहरीका अनुसार ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न पटकपटक दवाव दिएको पाइएको छ । सर्राफले भने प्रेमिका छाड्न मानेका थिएनन् ।
प्रहरीका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए । घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका देखिएको बताएका छन् ।
पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएको प्रहरीले जनाएको छ ।