November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

योगराज ढकाल कारागार चलान

२०८० कार्तिक १७

काठमाडौं । सर्वोच्च अदालतले कैद माफी बदर गरेपछि पक्राउ परेका योगराज ढकाल ‘रिगल’ पुनः कारागार चलान भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार जिल्ला अदालत समक्ष बुझाएको थियो । रिगललाई  बिहान पौने ११ बजेतिर नेपालगञ्ज कारागार कार्यालयमा पठाएको हो ।

चेतन मानन्धरको हत्या गरिएको मुद्दामा बाँके जिल्ला अदालतबाट २०७५–१–११ मा र उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट २०७६–१०–२८ मा भएको फैसला अनुसार ढकाललाई जन्मकैद (वीस वर्ष कैद) हुने भनी ठहर भएको थियो । सो मुद्दाका सन्दर्भमा रिगल ढकाल २०७२–५–७ देखि थुनामा रहेका थिए भने २०८० साल असोज ३ गतेको संविधान दिवसको सन्दर्भमा निजलाई रिहा गर्दा बाँकी कैद ११ वर्ष ११ महिना ५ दिन भुक्तानी हुनै बाँकी थियो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति  राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

Advertisement

रिगलको कैद मिनाहालाई सर्वोच्च अदालतले बिहीबार बदर गरेको थियो। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो। अदालतको आदेश लगत्तै उनलाइ प्रहरीले पक्राउ गरेको थियो ।