काठमाडौं । धनकुटामा एक वडाध्यक्षको घरमा अज्ञात समूहले आगजानी गरेका छन् । पाख्रीबास नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा आगजनी गरिएको हो ।
उनको घरमा सोमबार बिहान १ बजे आगोको मुस्लो देखिएको हो । मस्त निन्द्राबाट ब्युँझने बित्तिकै घरमा आगो लागिरहेको थाहा पाइएको र पत्नीसहित बाहिर निस्कन खोज्दा धुँवाका कारण सम्भव नभएपछि उनले छिमेकी गुहारेका थिए ।
छिमेकीहरूले भर्याङ दिएर झ्यालबाट देवेन्द्र र उनकी पत्नीलाई घरबाट निकालेको प्रहरीले जनाएको छ । घरभित्रै थुनेर कसले आगो लगायो अहिलेसम्म केही खुलेको छैन।
उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
उनको घरमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिको परिचय खुलाएको छैन।