काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन तस्कर गर्ने समूहले १३८ किलो सुन ल्याएको तथ्य फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले एउटै समूहले सुन तस्कर गरेको तथ्य फेला पारेको हो ।
१३८ किलोमध्ये चन्द्रबहादुर घलेले ल्याएको १४ किलो सुन मात्र बरामद भएको आइतबार समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
समितिको प्रतिवेदनमा मीनबहादुर घले, चन्द्रबहादुर घले र कृष्णकुमार श्रेष्ठले १३८ केजी सुन ल्याएर विमानस्थलमा सेटिङ मिलाएर बाहिर ल्याउने गरेको उल्लेख छ।
प्रतिवेदनमा दुबईबाट सुन पठाउने काम अंकित अग्रवाल नाम गरेका व्यक्तिले गर्दै आएको र विमानस्थलमा सेटिङको जिम्मा डीबी भनिने दानबहादुर गुरुङले लिएको पनि उल्लेख छ ।
छानबिन समितिमा प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य थिए ।
गत मंसिर २१ गते राति फ्लाई दुबईको विमान हुँदै आएका चन्द्रबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।