काठमाडौं । चितवनमा बोरामा फोको पारेको अवस्थामा फेला परेका दुई शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा भेटिएको महिला र पुरुषको शवको सनाखत भएको हो ।
मिलनचोकस्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका थिए । घटनाको ४६ दिन पछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो ।
प्रहरीका अनुसार घर भारत भई भरतपुरमा व्यापार गरी बस्दै उनीहरू नाताले श्रीमान श्रीमती हुन्। घटनाका पीडक भने भारतमै रहेको खुलेको छ।
पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो। २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो।
चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।